काठमाडौँ- जनमत पार्टीले आफ्ना दुई सांसदमाथि कारबाही गर्ने तयारी गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका दुज्ञ सांसदहरू विनिता सिंह र सोनु मुर्मुरमाथि कारबाही गर्ने निर्णय गरेको हो।
मोरङकी सोनु दलित क्लस्टरमा र सिराहाकी विनिता आदिवासी जनजाति क्लस्टरबाट सांसद छन्।
पार्टी अध्यक्ष सिके राउतले उनीहरूमाथि पार्टी अनुशासन उल्लंघन र संसद्मा प्रभावकारी भूमिका खेल्न नसकेको प्रस्ताव पेस गरेका थिए। सोही प्रस्तावमा केन्द्रीय समितिले कारबाहीको निर्णय गरेको हो।
‘केन्द्रीय समितिले उहाँहरू दुवै जनालाई कारबाही सिफारिस गरेको छ। अन्तिम निर्णय गर्ने अधिकार अध्यक्षलाई छ,’ पार्टी महासचिव चन्दनकुमार सिंहले भने। कारबाहीबारे अध्यक्षले निर्णय गरेर पार्टीको सचिवालय समितिलाई जानकारी गराउनेछन्। त्यसपछिमात्रै संसद् र निर्वाचन आयोगलाई पत्र पठाउने बताइएको छ।
पार्टी स्रोतका अनुसार विनिताको ठाउँमा दुर्गावत्ती धोवी (कपिलवस्तु)लाई पठाउने तयारी छ। सोनुको ठाउँमा कसलाई पठाउने निर्णय अध्यक्ष राउतले नै गर्नेछन्। बैठकमा उनीहरूबाहेक अन्यमाथि पनि कारबाहीबारे छलफल भएको थियो। पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यहरू सुनिता सदाय, इर्फान शेख र जोया शेखलाई कारबाही गर्नेबारे छलफल भएको हो। उनीहरूले पार्टी हितविपरीत काम गरेको उजुरी पार्टीमा परेको थियो।
आजको बैठकले पार्टी विधान संशोधन गरेर सचिवालय पनि पूर्गठन गरिएको छ। अब सचिवालयमा ३५ सदस्य र कार्यकारिणी समितिमा ५० जना रहनेछन्। संसद्मा जनमतका ६ सांसद छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij