काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केहीदिन अघि संसदमा पशुपतिनाथमा जलहरीमा सुन भनी पित्तल राखेर भ्रष्टाचार गरेको विषयमा छानबिन हुनुपर्ने माग गरेका थिए। शुक्रबार बसेको संसद बैठकमा एमालेले सत्तापक्षकै सांसदबाट गम्भीर आरोप लगाइएको भन्दै यसबारेमा सत्तापक्षको धारणा नआई संसद बैठक चल्न नदिने अडान लियो। सभामुख देवराज घिमिरेले एमाले सांसदलाई बसेर छलफल प्रक्रियामा भाग लिन आग्रह गरे, तर एमाले सांसदहरुले बसेनन्।
बरु संसद बेल अगाडि नाराबाजीमा उत्रिए। केहीबेर एमाले सांसदहरुको नाराबाजीपछि सभामुख घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरे। स्थगित बैठक सुरु हुनै सकेन। त्यसअघि सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरे।
यस्तो छ महालेखा परीक्षकले जलहारीको विषयमा लेखेको तथ्यः
पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको विषयमा महालेखाले समेत प्रश्न उठाएको थियो।
महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख थियो। त्यसबेलाको मूल्यअनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँबराबरको सुन गायब भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो।
जलहरी राख्ने समयमा कोषले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा रुपैयाँ खरिद गरेको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण, तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम रहेको उल्लेख गरिएको थियो।
निर्मित जलहरी, जलधारा, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५ सय १४ ग्राम रहेको र बाँकी रहेको १० किलो ९ सय ७६ ग्राम सुनको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिएको छ। तर, बनाउने भनिएको रिङ नै बनाएको नदेखिएकोले त्यो परिमाणको सुन गायब गरेको महालेखाको ५९ औँ प्रतिवेदनमा उल्लेख थियो।
तत्कालीन प्रधानमन्त्री ओलीको जोडबलमा जलहरी
२०७७ साल माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा गएर विशेष पूजा आराधना गरे। माघ १३ का दिन उनले सुनको जलहरी स्थापना गर्न ३० करोड रुपैयाँ तत्कालै दिने प्रतिवद्धता मात्रै जनाएनन्, मातहातका निकायलाई जलहरी निर्माणमा कुनै पनि कसर बाँकी नराख्न दिर्नेशन नै दिए।
प्रधानमन्त्री पशुपति विकास कोषको संरक्षक रहने व्यवस्था छ। ओलीको सोही निर्देशन बमोजिम पशुपति क्षेत्र विकास कोष सुनको जलहरी निर्माणमा जुटेको थियो। त्यसको लागि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा कार्यदल नै गठन गरिएको थियो।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास कोष परिषद्को १३ माघको बैठकले प्रधानमन्त्रीको निर्देशन बमोजिम जलहरी राख्ने निर्णय गरेको थियो। त्यसलगत्तै युद्धस्तरमा काम भयो र दुईसय वर्ष पुरानो चाँदीको जलहरी हटाएर १२ फागुनमा सुनको जलहरी राखिएको थियो। जलहरी राख्ने काममा तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, काेषाध्यक्ष मिलन कुमार थापा र कार्यकारी निर्देशक घनश्याम खतिवडा पनि संग्लन थिए।
जलहरी राख्ने चर्चा २०७० मा पनि भएको थियो। जसको लागि तत्कालीन सदस्य सचिव डा. गोविन्द टन्डन नेतृत्वले ३० करोड लाग्ने अनुमान गरेको थियो। तर, ०७७ सालमा ८० करोड रुपैयाँभन्दा बढी खर्च गरेर जलहरी राखिएको थियो।
पशुपतिमा दानबाट आएको हजारौँ किलो चाँदी अहिले पनि थन्किएर बसेको छ। सुन दानदव्यमा थोरै आउने भएकोले खरिदको विकल्प थिएन। तर कोष र सरकार भने सुनकै राख्न लागिपरेको थियो। तत्कालीन राजा वीरेन्द्र शाहले पनि चाँदी दान गरेर जलहरीमा थपेका थिए। त्यसयता भने जलहरीमा कुनै वस्तु थप गरिएको थिएन।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij