२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

ललिता निवास प्रकरण : गैरकानुनी थुनामा राखेको भन्दै सचिव राउत सर्वोच्च पुगे

ललिता निवास प्रकरण : गैरकानुनी थुनामा राखेको भन्दै सचिव राउत सर्वोच्च पुगे

काठमाडौं– ललिता निवासको जग्गा कीर्तेमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेर थुनामा रहेका सचिव कृष्णबहादुर राउत सर्वोच्च पुगेका छन्।

उनले आफूलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्। उनको निवेदनको सुनुवाई बिहीबारलाई पेसी तोकिएको छ।

सीआईबीले उनलाई विमानस्थलबाट पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालतबाट म्याद थप भई हिरासतमा राखिएको छ। ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन शाखा अधिकृत रहेका राउतले टिप्पणी उठाएको आरोपमा सीआईबीले अनुसन्धानका लागि पक्राउ गरेको हो।

सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा राउतसहित १७ जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ।

यसअघि ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गर्दा राउतलाई उन्मुक्ति दिइएको थियो।

बन्दी प्रत्यक्षीकरणको निवेदनमा राउतले आफूले उठाएको टिप्पणी सदर नभएपछि अन्य कर्मचारीले उठाएको टिप्पणी पछि सदर भएको दाबी गरेका छन्। सर्वोच्चमा यसअघि दर्ता भएका बन्दीको निवेदन पनि विचाराधीन छन्।

निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह र भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहितले दायर गरेको बन्दीको निवेदन सर्वोच्चमा विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij