काठमाडौँ- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा आफूले बोलेको विवादास्पद अभिव्यक्तिबारे प्रस्टीकरण दिँदा छोरी ज्ञानुको बाबु भएर बोलेँ प्रधानमन्त्रीका रुपमा बोल्नुहुँदैनथ्यो भने ।
उनको यो भनाइपछि एमाले सचिब योगेश भट्टराईको प्रतिक्रिया आएको छ । उनले भनेका छन्, ‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले व्यहोरेको पीडा संवेदनसील छन् । उहाँका ती पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ । तर प्रधानमन्त्रीका रुपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैँ छैन है । हेक्का रहोस् ।’
प्रचण्डले एक पुस्कत विमोचन कार्यक्रममा भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछि एमालेले उनको राजीनामा माग्दै संसद अवरोध गरेको थियो । संसदमा प्रष्टीकरण दिएपछि बैठक चल्न दिन एमाले सहमत भएपछि आज प्रचण्डले संसदमा प्रष्टीकरण दिएका हुन् ।
योगेश भट्टराईले फेसबुकमा थप लेखेका छन्, ‘हामीले उहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौँ । हामी अरु केही जस्तो निर्दयी होइनौँ र छैनौं । तर देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति भने कठोर प्रश्न छन् ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij