काठमाडौँ– कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सत्तागठबन्धन दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट १/१ जना मन्त्री नियुक्त गरेका हुन्।
शुक्रबार पद तथा गोपनियताको शपथ लिएका मुख्यमन्त्री थापाले शुक्रबार नै मन्त्रिपरिषद् गठन गरेका हुन्। कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जबेगु मन्त्री भएका हुन्। उनीहरू दुवैजना बिनाविभागीय मन्त्री बनेका हुन्।
माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुंगो लगाउन सकेको छैन। थापा सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्रीमा बिहीबार साँझ नियुक्त भएका थापाले शुक्रबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथलगत्तै उनले मुख्यमन्त्री कार्यालय पुगेर पदभार सम्हालेका छन्।
कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले मुख्यमन्त्री नियुक्ति हुनुलाई आफूले चुनौतीका रूपमा लिएको र चुनौतीलाई अवसरमा बदल्ने उनले बताए। मुख्यमन्त्रीका हैसियतले आफूले सभाका सबै दलहरूलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता उनको छ।
थापाले भने, ‘यो पद मेरा लागि निकै चुनौतीपूर्ण छ। चुनौतीलाई मैले जिम्मेवारीका रूपमा लिएको छु। चुनौतीकै बीचबाट अवसर प्राप्त हुन्छ। शीर्ष तहको निष्कर्षअनुसार सबै दललाई विश्वासमा लिएर अघि बढ्ने छु।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij