२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

ललिता निवास जग्गा प्रकरण : नेपाल सरकारका ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी

ललिता निवास जग्गा प्रकरण : नेपाल सरकारका ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ- ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सरकारी जग्गा व्यक्तिको नामको बनाउने प्रकरणमा संलग्न भएका नेपाल सरकारका ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् ।

११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो यही मुद्दामा जोडिएका हुन् । फाइल टिप्पणी उठाउने र सदर गर्ने काममा उनीहरुको नाम जोडिने गरेको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको नामसमेत यही मुद्दामा जोडिने गरेको छ ।

मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता)मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा/शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ ।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु प्नि मुछिएका छन् । अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले कीर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij