२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कांग्रेस सभापति भेलामा अर्थमन्त्रीको चर्को आलोचना

कांग्रेस सभापति भेलामा अर्थमन्त्रीको चर्को आलोचना

काठमाडौँ- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। छलफलको पहिलो दिनमा धारणा राख्नेहरूले सरकार र पार्टीबीच समन्वय नभएको बताएका छन्।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले त अर्थमन्त्रीमाथि गम्भीर आरोप लगाए। मोरङ कांग्रेस सभापतिसमेत रहेका उनले भने, ‘कांग्रेसकै अर्थमन्त्री छ। म पनि मन्त्री हुँ तर मैले मेरै जिल्लाका योजनामा बजेट लैजान सकिनँ। अर्थमन्त्रीले आफ्नै जिल्लामा मात्रै बजेट लगेपछि के गर्नु।’

लिम्बूले बजेट वितरणमा समानुपातिक प्रणाली नअपनाएको भन्दै आपत्ति जनाए। लिम्बूले मात्रै होइन संखुवासभा र रामेछापका जिल्ला सभापतिले पनि अर्थमन्त्रीको आलोचना गरे। सभापतिहरूले पार्टीका गतिविधिमा पनि नेतृत्वले ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन्।

कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा सभापतिहरूले पार्टी नेतृत्व र सरकारबारे आफ्नो धारणा राखेको बताए। उनले भने, ‘जिल्ला सभापतिहरूले पार्टी नेतृत्व र सरकारबारे पनि धारणा राख्नुभएको छ। सरकारले पार्टीसँग समन्वय नगरेकोबारे ध्यानाकर्षण गराउनुभएको छ।

विश्वकर्माका अनुसार आजको बैठकमा ६० जिल्लाका सभापतिहर उपस्थित थिए भने बाँकी जिल्लाका सभापति भर्चुअल प्रविधिबाट जोडिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij