काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा, नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो।
सार्वजनिक नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन्। यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ। गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए।
नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ।
गत चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ जना परीक्षर्थी सहभागी भएका थिए।तीमध्ये २ लाख ४२ हजार ७१२ जना छात्रा र २ लाख ४२ हजार ६७४ जना छात्र छन्। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थी पनि एसईई परीक्षामा सहभागी थिए।
यसपटक बोर्डले पुरानै विधिअनुसार डी र ई ग्रेड पनि निर्धारण गरेर नतिजा प्रकाशन गरेको छ। पुरानो पद्धतिअनुसार ९० देखि १०० विचमा अंक ल्याउनेलाई एप्लस, ८० देखि ९० भन्दा कम अंक ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम अंक ल्याउनेलाई बीप्लस, ६० देखि ७० भन्दा कम अंक ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम अंक ल्याउनेलाई सीप्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डीप्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिएको बोर्डले जनाएको छ।
बोर्डको दुवै वेबसाइट www.see.gov.np र www.neb.gov.np बाट, नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर तथा विभिन्न वेबसाइटबाट र विभिन्न सेवाप्रदायक कम्पनीमा एसएमएस गरेर नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। नेपाल टेलिकमबाट १६०० मा डायल गरी एईई नतिजा हेर्न र बुझ्न सकिन्छ। यस्तै ३५००१, ३४९४९, ३१००३, ३१०६४ डायल गरेर पनि एसईई नतिजा थाहा पाउन सकिन्छ।



© 2026 All right reserved to samajpress.com | Site By : Sobij