२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा महानगरपालिकाको रोक

कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा महानगरपालिकाको रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा मंगलबार अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो ।

‘अरुलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैँले कमजोरी गरेको देखियो । अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो । यो गलत प्रक्रिया हो ।’ उपप्रमुख डंगोलले भनिन्, ‘रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादनस्थल बन्नु हुँदैन । यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन, अस्पतालहरुले आफूलाई स्वच्छ र स्वस्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनु पर्छ ।’

‘फरक प्रकृतिको फोहोर राख्न रङ्ग संकेतको पालना भएको पाइएन । यसबाट हानीकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको हो ।’

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘स्रोतमा फोहोर छुट्टिएको, हानीकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको एकिन नहुञ्जेल फोहोर उठाउँदैनौँ ।’

अस्पतालले हानीकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनु पर्ने टोलीले सुझाव दिएको छ ।

आज नै महाराजगञ्जमा भएको इन्टरनेशनल फ्रेन्डसिप चिल्ड्रेन हस्पिटलको अनुगमन भएको छ । अस्पतालले स्रोतमा फोहोर वर्गीकरण गर्ने अभ्यास व्यवस्थित गरेको पाइयो । स्रोतबाट संकलन भएको फोहोर प्रशोधन कक्षमा पुगेपछि एकै ठाउँमा हुने गरेको देखियो । हानीकारक फोहोर निर्मलीकरणका लागि राखिएको अटोक्लेभ मेसिन सञ्चालन भएको देखिएन ।

मेसिनमाथि धुलो जमेको थियो । यसपछि फोहोर संकलन गर्ने स्थान पनि व्यवस्थित थिएन । यसरी हेर्दा स्रोत फोहोर वर्गीकरण राम्रो भए पनि नतिजा राम्रो थिएन । अनुगमन टोलीले अस्पताललाई वर्गीकरण भएको फोहोर प्रकृतिअनुसार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij