काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित राष्ट्रिय समाचार समितिको ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनी कार्यक्रममा मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी हुन् ।
लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रता समेत नभएको भन्दै मन्त्री शर्माले गणतन्त्रको विकल्पमा पुनः पछाडि फर्कन नसकिने स्पष्ट पारिन् । उनले विभिन्न भ्रष्टाचारको विषयहरू उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै ती समस्याहरूको समाधान पनि गणतन्त्रभित्रै सम्भव भएको बताइन् ।
राजतन्त्रको शासनमा मान्छेहरूलाई स्वतन्त्रता नै नभएको मन्त्री शर्माको भनाइ थियो । ‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाट सम्भव भएको हो । यदि गणतन्त्र, लोकतन्त्र हुन्नथ्यो, हामीलाई यसरी बोल्ने स्वतन्त्रता हुँदैनथ्यो भने हाम्रा शासक, सत्ता सञ्चालकहरूले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौँ होला । त्यसकारणले यहाँ भएका समस्याहरूलाई सुधार गर्ने भनेको पनि गणतन्त्रले नै हो । लोकतन्त्रले नै हो,’ उनले भनिन् ।
गणतन्त्र, लोकतन्त्रको विकल्प फेरी पश्चगमन हुन नसक्ने बताउँदै उनले भनिन्‚ ‘पछाडि फर्कने कुरा हुन सक्दैन । अहिले आउँदाखेरी यस्तो भयो, यत्रा भ्रष्टाचारका कुराहरू आए, दुनियाँभरि भएका छन् । यो भन्दा त हिजोकै राजतन्त्र ठिक नि भन्ने खालका प्रश्न पनि तपाईं-हाम्रा बीचमा उठ्ने गरेका छन् । मान्छेहरुले उठाउने गरेका छन् तर विषय त्यस्तो होइन । के हो भने, यसको विकल्प, समाधान त्यो होइन । गणतन्त्रको समाधान गणतन्त्रभित्रै सम्भव छ ।’
लोकतन्त्रभित्रका समस्याको समाधान लोकतन्त्रभित्रै सम्भव रहेको मन्त्री शर्माको भनाइ थियो । लोकतन्त्रिक व्यवस्थाभन्दा बाहिर गएर समाजका समस्याको समाधान सम्भव नरहेको उनको भनाइ थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij