२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

काठमाडौंको गोठाटारमा हिन्दू विश्वविद्यालय स्थापना गरिने

काठमाडौंको गोठाटारमा हिन्दू विश्वविद्यालय स्थापना गरिने

 

काठमाडौँ ।  सरकारले काठमाडौँको गोठाटारमा ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।

श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले आइतबार आफ्नो अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएसँगै विश्वविद्यालय निर्माणको आधार तयार भएको हो ।

समितिको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री सुदन किरातीले पशुपतिनाथ, हिन्दुत्व र हिन्दूको गहिराइ र महत्वलाई बोध गरेर पशुपति हिन्दू विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिए ।

उनले विश्वविद्यालयको कानुनी प्रक्रिया पूरा गरेर विसं २०८१ सम्म सञ्चालन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको जानकारी दिए । पर्यटनमन्त्री किरातीले भने, “हिन्दू दर्शनको महत्व विश्वभर फैलाउने, सांस्कृतिक कूटनीतिक माध्यमका रुपमा विकास गर्ने तथा यसको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अगाडि बढाइएको हो ।” कोषको गोठाटारमा रहेको पाँच सय रोपनी जग्गामध्ये दुई सय ५० रोपनी क्षेत्रफलमा विश्वविद्यालय बनाउने मन्त्रालयको योजना छ ।

पर्यटनमन्त्री किरातीले कोषको गोठाटारको जग्गा पशुपति हिन्दू विश्वविद्यालय निर्माणका निम्ति चाँडै नै कोषबाट औपचारिक निर्णय गरिने जानकारी दिए  । उक्त प्रयोजनका विश्वविद्यालय निर्माणको पूर्ण तयारी र सञ्चालनका लागि छुट्टै समिति गठन गरिने बताए ।

“हामी (सरकार) हिन्दू विश्वविद्यालय स्थापना गरेरै छाड्छौँ”, “पर्यटनमन्त्री किरातीले भने, “विश्वभर नेपालको पशुपतिनाथ र हिन्दुत्वलाई स्थापित गर्न र सांस्कृतिक कूटनीतिक मान्यताको विकास गर्नैपर्छ ।”

समितिका संयोजक एवं संस्कृतिविद् डा जगमान गुरुङले पशुपतिनाथको माध्यमबाट विश्वलाई नेपालप्रति आकर्षण गर्ने उद्देश्यले पशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको उल्लेख गरे ।

उनले विश्वविद्यालय निर्माणका लागि ७५ काम सकिएको र कानुनी मस्यौदाको कामलाई चाँडो टुङ्ग्याइनुपर्ने बताए । पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

पर्यटन मन्त्रालयले गत वैशाख १३ गतेको निर्णयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न डा गुरुङको संयोजकत्वमा विज्ञ सरोकारवालाहरु सम्मिलित एक समिति गठन गरेको थियो । समितिले नौ महिना लगाएर तयार पारेको प्रतिवेदन  मन्त्रालयलाई बुझाएको हो ।

नेपालभित्रको धर्म, संस्कृति, सभ्यता, कला र दर्शनको मात्र अध्ययन, अध्यापन र अनुसन्धानलाई मुखय विषय र लक्ष्य बनाएर भगवान् श्रीपशुपतिनाथका नामबाट हिन्दू दर्शन, बौद्ध दर्शन एवं नेपालमा प्रचलित धर्म दर्शनहरु निगम, आगम, जीवपद्धति, संस्कृति, संस्कार र परम्परालाई उजागर गर्न अध्ययन एवं अनुसन्धानको आवश्यकता भएबमोजिम गुठी मोडलमा विश्वविद्यालय स्थापना गर्ने सोच समितिले तय गरेको छ ।

नेपालमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने यस विश्वविद्यालयको स्वत्व भनेको नेपालमुखी भएको समितिको निष्कर्ष छ ।

विश्वविद्यालय नितान्त नेपालको पहिचान विश्वपरिदृश्यमा स्थापित गरी विश्वलाई नेपालतर्फ आकर्षित गर्नसक्ने गुणस्तरीय विश्वविद्यालय बन्ने समितिका सदस्यसचिव डा घनश्याम खतिवडाले विश्वास व्यक्त गरे ।

उनका अनुसार सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुपति र लुम्बिनीमा विशिष्टीकृत अध्ययन केन्द्रको विकास गर्ने विषय उल्लेख भएबमोजिम समय सान्दर्भिक रुपमा श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी अघि बढेको हो ।

विश्वविद्यालयको स्वरुपबारे विज्ञहरुसँग परामर्श गरी रायसुझाव लिइएको तथा विश्वविद्यालयको विधेयक मस्यौदा गर्ने कार्यका लागि कोष व्यवस्थापनसमक्ष अनुरोध गरिएको सदस्यसचिव खतिवडाले जानकारी दिए ।

उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनाका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटकको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ । कोषको प्रस्तावित गुरुयोजनाअनुरूप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij