२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सरुवा कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्का गरिने

सरुवा कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्का गरिने

काठमाडौँ- सरकारले कर्मचारीको सरुवापछि रमाना नलिने र नदिने कर्मचारीको तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाहीसहित तलब भत्ता असुलको नीति कार्यान्वयनमा ल्याएको हो।

यससँगै सरुवपा भएपछि समयमै रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने भएको हो। त्यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने तयारी पनि मन्त्रालयले गरेको छ।

प्रतिनिधिसभाको सोमबार बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उक्त जानकारी गराएका हुन्।

कर्मचारीको सरुवा तथा पदस्थापन आगामी दिनमा प्रणालीगत गराइने पनि मन्त्री मोदीले जानकारी गराए। उनले कर्मचारीको सरुवा र काज र पदस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको मन्त्री मोदीको भनाइ थियो।

स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिने कार्यलाई निरुत्साहित गरिएको पनि उनले बताए। हाल १ सय ४२ तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्।

हिमाली तथा तराईका जिल्लाका पालिकामा दिनैपर्ने विशेष परिस्थितिमा मात्रै स्थानीय तहको कार्यपालिकाको निर्णय र सिफारिसबमोजिम स्थानीय तहमा कार्यरत सबैभन्दा ज्येष्ठ कर्मचारीलाई मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने गरिएको उनले बताए।

यसैगरी बढुवा तथा खुला प्रतियोगिताबाट आउने उपसचिव तथा सहसचिवको पहिलो पदस्थापन स्थानीय तहमा हुने व्यवस्था मिलाइएको छ। मन्त्रालयले आगामी साउनदेखि स्वचालित र पूर्वअनुमानयोग्य सरुवा प्रणाली लागू गर्न कार्यदल पनि गठन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij