काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज जिम्बाबेमा सुरु हुँदै छ। आफ्नो पहिलो खेलमा नेपालले आज (आइतबार) जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै छ।
घरेलु टोलीविरुद्ध नेपालको खेल जिम्बाबेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक टेस्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्ने भएको हो। नेपाल पहिलो खेलमै टेस्ट टोली जिम्बाबेलाई हराउन चाहन्छ।
खेलमा नेपालको कप्तानी रोहित पौडेल र जिम्बाबेको कमानी क्रेग इर्विनले गर्नेछन्। पछिल्लो समय उच्च लयमा रहेको नेपाल यसलाई कायम राख्ने योजनामा हुनेछ।
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) को विश्व वरीयतामा नेपाल १५औँ र जिम्बाबे ११औँ स्थानमा छन्। विश्वकप छनोटमा नेपाल जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्।
विश्वकप छनोटका लागि नेपालले स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा र जिम्बाबेमा दुई अभ्यास खेल खेलेको थियो।
विश्वकप छनोट खेल्ने नेपाली टोली
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो
© 2026 All right reserved to samajpress.com | Site By : Sobij