२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

गरिबीको फाइदा उठाएर खोसिएका सन्तान ४१ वर्षपछि आमाको काखमा

गरिबीको फाइदा उठाएर खोसिएका सन्तान ४१ वर्षपछि आमाको काखमा

चिली । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याइएका तीन दाजुभाइ ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन भएका छन् । दशकौँदेखि सन्तान गुमाएको पीडा बोकेर बाँचेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः आफ्ना छोराहरूलाई भेट्न पाएकी हुन् ।

अमेरिकामा हुर्किएका टिम रोलनिक (४१), ट्राभिस मर्डोक (३७) र उनका जुम्ल्याहा भाइ क्रिसलाई बाल्यकालमै आमाबाट अलग गरी अमेरिकी परिवारको जिम्मा लगाइएको थियो । उनीहरूलाई आफूहरू जैविक परिवारबाट अलग भएको जानकारी भए पनि त्यसको वास्तविक कारण थाहा थिएन ।

परिवारसँगको सम्बन्ध खोज्ने क्रममा सन् २०२० मा टिमले डीएनए परीक्षण गराए । परीक्षणबाट उनको जैविक परिवार चिलीमा रहेको खुलेपछि परिवार पुनर्मिलनमा सहयोग गर्ने संस्थाको सहायतामा उनले आफ्ना भाइहरूको समेत खोजी गरे । त्यसक्रममा आफ्ना भाइहरू पनि अमेरिकामै हुर्किरहेको पत्ता लाग्यो ।

तीनै दाजुभाइबीच सम्पर्क स्थापित भएपछि उनीहरू नजिकिए । त्यसको छ वर्षपछि टिम र ट्राभिस चिली पुगेर जन्म दिने आमासँग भेट्न सफल भए । सन् २०१३ मा सवारी दुर्घटनामा गम्भीर घाइते भएका क्रिस भने स्वास्थ्य अवस्थाका कारण आमालाई भेट्न चिली जान सकेनन् ।

यो पुनर्मिलन चिलीको सैनिक शासनकालमा बालबालिकालाई अवैध रूपमा परिवारबाट अलग गरिएको भयावह इतिहाससँग जोडिएको छ । न्यायिक प्रतिवेदनअनुसार अगस्टो पिनोचेको १७ वर्षे शासनकालमा करिब २० हजार बालबालिकालाई जबर्जस्ती वा आपराधिक प्रक्रियाबाट अन्य परिवारको जिम्मा लगाइएको थियो । नागरिक संस्था ‘नोस बुस्कामोस’ ले यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्ने अनुमान गरेको छ ।

संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोका अनुसार गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध गतिविधिको मुख्य निशानामा पर्ने गरेका थिए । यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको उनको भनाइ छ ।

पादिलाले पनि गरिबीसँग सङ्घर्ष गर्दै सन्तान हुर्काउने सपना देखेकी थिइन् । गर्भवती भएपछि अस्पतालले आफ्ना बच्चाहरूको भविष्य राम्रो बनाउन सहयोग गर्ने विश्वास गरेकी उनी त्यहीँबाट सन्तान खोसिएपछि जीवनभर वियोगमा रहिन् । ‘धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्यो,’ उनले आफ्नो विगत सम्झँदै भनिन् ।

पुनर्मिलनपछि उनले आफूले सधैँका लागि गुमाएको ठानेका छोराहरू फेरि पाएको बताइन् । यता ट्राभिसले पनि विगतको पीडामा मात्र अल्झिनुभन्दा परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्यतर्फ अघि बढ्न चाहेको बताएका छन् ।

पिनोचेको सैनिक शासनकालमा बालबालिका परिवारबाट अलग पारिएको घटना त्यहाँको मानवअधिकार उल्लङ्घनको अर्को गम्भीर पाटोका रूपमा रहेको छ । उक्त शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसले यातना र कारावास भोगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij