२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छः प्रचण्ड

मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छः प्रचण्ड

महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् ।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे ।

उनले भने, ‘हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ ।’

संयोजक दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बताए । ‘यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,’ उनले भने, “यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्ने छौँ ।’

यसैबीच, सो दलले राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा आज आयोजना गरेको छ ।

कार्यक्रममा मधेसभरिका पार्टीका केन्द्रीय सदस्य, मधेस प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष तथा संयोजक सहभागी हुने उक्त दलका मधेस प्रदेश इञ्चार्ज राजु खड्काले जानकारी दिए । कार्यक्रममा सो दलका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij