२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय

भियना । अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्त निर्णयप्रति रुसले उचित जवाफ दिने चेतावनी दिएको छ ।

अस्ट्रियाली सुरक्षा अधिकारीहरूले उपलब्ध गराएको जानकारीका आधारमा भियनामा रहेका चार रूसी कूटनीतिज्ञविरुद्ध कारबाही गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रूसी दूतावासमा कार्यरत तीन कूटनीतिज्ञ आफ्नो कूटनीतिक हैसियतसँग असङ्गत गतिविधिमा सङ्लग्न थिए ।

त्यसैगरी, युरोपमा सुरक्षा तथा सहयोग सङ्गठन (ओएससीई) मा रहेको रूसी प्रतिनिधिमण्डलका एक सदस्य पनि यस्तै गतिविधिमा सङ्लग्न रहेको मन्त्रालयले जनाएको छ । ती चारै जनालाई अस्वीकृत व्यक्ति घोषणा गर्दै अस्ट्रियाको भू–भाग छाड्न निर्देशन दिइएको छ ।

भियनास्थित रूसी दूतावासले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त निर्णयको आलोचना गर्दै यसको उपयुक्त जवाफ दिइने चेतावनी दिएको छ ।

दूतावासले अस्ट्रियाले रुसविरोधी पश्चिमी नीतिलाई विचारहीन रूपमा पछ्याइरहेको आरोपसमेत लगाएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि युरोपका विभिन्न देशले रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएका छन् । यससँगै पश्चिमी मुलुकहरूले रुसमाथि व्यापक आर्थिक तथा अन्य प्रतिबन्धहरू पनि लगाएका छन् ।

यसै वर्ष सेप्टेम्बरमा हङ्गेरीले प्रधानमन्त्री पिटर मग्यारको नेतृत्वमा रूसी कूटनीतिक नियोगका १० सदस्यलाई देशबाट निष्कासन गरेको थियो । हङ्गेरीले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न उक्त कदम चालिएको जनाएको थियो ।

अस्ट्रियाले पनि सन् २०२२ यता पटक–पटक रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएको छ । यद्यपि, अन्य केही युरोपेली देशको तुलनामा त्यहाँ निष्कासन गरिएका कूटनीतिज्ञको सङ्ख्या कम रहेको छ ।

अस्ट्रिया युरोपेली सङ्घको सदस्य भए पनि सैन्य रूपमा तटस्थ राष्ट्र हो र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्य होइन । देशको तुलनात्मक रूपमा कमजोर जासुसीसम्बन्धी कानुनी व्यवस्थाका कारण भियनालाई रूसी गुप्तचर गतिविधिको प्रमुख केन्द्रका रूपमा समेत चित्रण गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij