काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ ।
टानले एक सूचना जारी गरी बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी हाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मतसम्भार गरेसँगै आंशिक रूपमा सञ्चालनमा आएको जनाएको छ ।
उक्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै सतर्कता अपनाएर पदयात्रा गर्न टानले सबै पदयात्रीलाई आग्रह गरेको छ । पदयात्रा सञ्चालनमा आएसँगै मनास्लु लार्केपास पदमार्ग पुनः सञ्चालनमा आएको हो ।
पदयात्रीले माछाखोलासम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी र लार्केपासतर्फको यात्रा गर्न सक्ने टानले जनाएको छ । यस्तै, यारु बगरको नियमित पदमार्गमा केही कठिनाइ बाँकी रहेकाले १० मिनेटको वैकल्पिक मार्ग प्रयोग गर्नसमेत टानले आग्रह गरेको छ ।
पदमार्गको कठिन खण्ड मर्मत तथा निर्माणका लागि धार्चे र चुमनुब्री गाउँपालिकाले काम गरिरहेको टानले जनाएको छ । टानका अनुसार उक्त पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएपछि चुम उपत्यकाको पदयात्रा मार्ग हाल बन्द रहेको छ ।
पुल मर्मतको काम जारी रहेकाले करिब एक साताभित्र पदमार्ग पुनः सञ्चालनमा आउने गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
लाङटाङ र गोसाइँकुण्ड पदयात्राका लागि खुला
यस्तै, लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन् । गत १० भदौमा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुईवटा वैकल्पिक पदमार्ग उपलब्ध भएको टानले जनाएको छ ।
पहिलो विकल्पअनुसार काठमाडौं हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ ।
यसैगरी, दोस्रो विकल्पमा काठमाडौं–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड–ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ ।
टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij