२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कांग्रेसको केन्द्रीय राजनीतिमा उदाइन् सिर्जना अधिकारी

कांग्रेसको केन्द्रीय राजनीतिमा उदाइन् सिर्जना अधिकारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सिर्जना अधिकारी निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी अधिकारीले २ हजार ६ सय ५८ मत प्राप्त गर्दै विजयी भएकी हुन्।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय अधिकारी नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सहमहामन्त्री हुन्। उनी नेविसंघको दुई कार्यकाल केन्द्रीय सदस्यसमेत रहिसकेकी छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी अधिकारीले लोकतान्त्रिक आन्दोलनका क्रममा समेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।

२०६२/६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेलसमेत परेकी अधिकारी आन्दोलनका क्रममा घाइतेसमेत भएकी थिइन्। उनले विद्यार्थी आन्दोलनमार्फत लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि योगदान पुर्‍याएकी छन्।

अधिकारी दुई पटक निर्वाचित महासमिति सदस्यसमेत हुन्। उनले संविधानसभाका दुवै निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारका रूपमा सहभागिता जनाएकी थिइन्।

राजनीतिसँगै महिला अधिकार, महिला समानता, सामाजिक न्याय तथा सशक्तीकरणका क्षेत्रमा पनि अधिकारी लामो समयदेखि क्रियाशील रहँदै आएकी छन्। वुमन एक्ट नामक संस्थामार्फत उनले महिला अधिकार र सामाजिक उन्नयनका विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आएकी छन्।

महिला अधिकार र समावेशी समाज निर्माणका क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएकी अधिकारीले आफ्नो राजनीतिक अनुभव र सामाजिक क्षेत्रको सक्रियतालाई पार्टी संगठन तथा नेतृत्व निर्माणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन्।

कांग्रेस संगठनलाई थप सशक्त बनाउने, नेतृत्वलाई समावेशी बनाउने र पार्टीलाई जनतासँग अझ नजिक जोड्ने उद्देश्यसहित आफ्नो भूमिकालाई केन्द्रीय समितिमा सशक्त बनाउने अधिकारीको भनाई छ ।

महिला अधिकारको अभियान, विद्यार्थी राजनीति र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी अधिकारीको केन्द्रीय सदस्यमा विजयसँगै नेपाली कांग्रेसको केन्द्रीय तहमा उनको भूमिका थप विस्तार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij