२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

महामन्त्रीमा डा. सुनिल शर्मा सशक्त , प्रतिनिधि भन्छन् – एक मत दिन्छाै

महामन्त्रीमा डा. सुनिल शर्मा सशक्त , प्रतिनिधि भन्छन् – एक मत दिन्छाै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि डा. सुनिल शर्माको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। खुलातर्फ दुई महामन्त्री पदका लागि उम्मेदवारी दिएका शर्माले आफ्नो चुनावी अभियानबाट आफू उत्साहित रहेको बताएका छन्।

समाजप्रेससँगको कुराकानीमा डा. शर्माले चुनावी अभियानका क्रममा देशभरका प्रतिनिधिबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको बताए। उनका अनुसार भेटघाटका क्रममा अधिकांश मतदाताले महामन्त्रीका लागि हुने दुईमध्ये एक मत आफूलाई दिने प्रतिबद्धता जनाएका छन्।

शर्माले भने, “चुनावी अभियानबाट म निकै उत्साहित छु। अधिकांश मतदाताले दुईमध्ये एक मत मलाई दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।”

शर्माको उम्मेदवारीपछि कांग्रेसभित्र महामन्त्रीको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। उनीसँगै महामन्त्री पदका अन्य आकांक्षीहरू पनि प्रतिनिधिसँग भेटघाट तथा आफ्नो पक्षमा समर्थन जुटाउने अभियानमा सक्रिय छन्।

स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो समय काम गरेका शर्मा कांग्रेस राजनीतिमा पनि लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनी २०५४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँदै आएका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट निर्वाचित उनी संसद्मा स्वास्थ्य, शिक्षा तथा जनजीविकासँग सम्बन्धित विषयमा सक्रिय देखिएका थिए।

यसपटक महामन्त्रीको उम्मेदवारीसँगै शर्माले कांग्रेसलाई बदलिँदो राजनीतिक परिस्थितिअनुसार रूपान्तरण गर्ने, पार्टीलाई जनतासँग थप जोड्ने तथा संगठनलाई विकेन्द्रित र प्रभावकारी बनाउने विषयलाई आफ्नो अभियानको प्रमुख आधार बनाएका छन्।

महामन्त्रीका लागि दुई पदमा आठ जना उम्मेदवार मैदानमा रहेकाले प्रतिस्पर्धा कडा देखिएको छ। यही प्रतिस्पर्धाबीच शर्माको चुनावी अभियानप्रतिको उत्साह र प्रतिनिधिहरूबाट प्राप्त समर्थनको दाबीले कांग्रेसभित्र उनको उम्मेदवारीबारे थप चासो बढाएको छ। अन्य उम्मेदवारहरूले समेत शर्माको चुनावी गतिविधि र प्रतिनिधिहरूसँगको सम्पर्कबारे आफ्ना निकटस्थहरूमार्फत जानकारी लिने गरेको कांग्रेस वृत्तमा चर्चा छ।

यद्यपि, प्रतिनिधिहरूले व्यक्त गरेको प्रतिबद्धता अन्तिम मतदानमा कति रूपान्तरण हुन्छ भन्ने कुरा महाधिवेशनको निर्वाचन परिणामबाट मात्र स्पष्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij