काठमाडौं । अध्ययन पूरा गर्दै गरेका विद्यार्थीलाई रोजगारीको अवसरसँग जोड्ने उद्देश्यले कोटेश्वर बहुमुखी क्याम्पसले शुक्रबार पहिलोपटक ‘जब फेयर’ आयोजना गरेको छ।
रोजगारदातालाई क्याम्पसमै ल्याएर विद्यार्थीसँग प्रत्यक्ष भेटघाट गराउने उद्देश्यसहित आयोजित मेलामा विभिन्न कम्पनीले रोजगारीका लागि आवेदन संकलन र प्रारम्भिक छनोट प्रक्रिया सञ्चालन गरेका छन्। विशेषगरी स्नातक तह चौथो वर्षको अन्तिम परीक्षा दिएका तथा रोजगारीको खोजीमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको मेलामा आधा दर्जनभन्दा बढी रोजगारदाता संस्थाको सहभागिता रहेको थियो।
सहभागी कम्पनीका प्रतिनिधिले विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूको योग्यता, रुचि र अनुभवका आधारमा विवरण संकलन गरेका थिए। क्याम्पस प्रमुख डा. प्रकाश पोखरेलले शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्यले रोजगारदाता संस्थासँग सहकार्य गरी पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको बताए। दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाता र रोजगारीको अवसर खोजिरहेका विद्यार्थीबीच क्याम्पसले सेतुको भूमिका निर्वाह गरेको उनको भनाइ थियो।

“हामीले रोजगारदाता संस्थासँग छलफल गर्दा दक्ष जनशक्तिको आवश्यकता रहेको पाइयो। अर्कोतर्फ हाम्रा विद्यार्थी रोजगारीको खोजीमा छन्। यही आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थी र रोजगारदातालाई एउटै थलोमा ल्याउने प्रयास गरेका हौं,” डा. पोखरेलले भने। मेलामा प्रभु लाइफ इन्स्योरेन्स, नेपाल क्यान ग्रुप, अनलाइन सेक्युरिटिज, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड, अवसर नेपाल र उपाय लगायतका संस्थाको सहभागिता रहेको थियो। रोजगार मेलाको उद्घाटन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भोला प्रसाद ढकालले गरेका थिए। उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उद्घाटन कार्यक्रममा सामुदायिक क्याम्पस प्राध्यापक संघ, क्याम्पस इकाइका सभापति सुरेश पोखरेल तथा सहभागी रोजगारदाता संस्थाका प्रतिनिधिले विद्यार्थी र रोजगारदाता संस्थाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने यस्तो पहल समयानुकूल र प्रभावकारी भएको धारणा व्यक्त गरेका थिए।

करिब चार हजार विद्यार्थी अध्ययनरत कोटेश्वर बहुमुखी क्याम्पसले प्लस–टुदेखि स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र तथा स्नातकोत्तर तहमा व्यवस्थापन विषयको अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij