२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

यस्तो बन्यो विश्वकप २०२६ को ‘ड्रिम टिम’

यस्तो बन्यो विश्वकप २०२६ को ‘ड्रिम टिम’

एजेन्सी । केप भर्डेका गोलकिपर भोजिन्हा र नर्वेका स्ट्राइकर एर्लिङ हालान्ड विश्वकप-२०२६ को ‘ड्रिम टिम’ मा परेका छन् ।

फुटबल समर्थकहरूको मतबाट छनोट गरिएको फिफा विश्वकप-२०२६ को ‘ड्रिम टिम’ मा भोजिन्हा र हालान्ड दुवैले आफ्नो टिमको अप्रत्याशित सफल यात्रामा उत्कृष्ट प्रदर्शन गरेपछि स्थान पाएका हुन् ।

विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डेका लागि उत्कृष्ट प्रदर्शन गरेका भोजिन्हाले गोलकिपरतर्फ ३९.६ प्रतिशत मत प्राप्त गर्दै ड्रिम टिममा स्थान बनाए । उनले स्पेनका उनाइ सिमोनलाई पछि पारे । यद्यपि, सिमोनले फिफाको प्राविधिक अध्ययन समूहले प्रदान गर्ने गोल्डेन ग्लोभ अवार्ड जितेका थिए ।

४० वर्षीय भोजिन्हा प्रतियोगिता सुरु हुनुअघि पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेस छाडेपछि क्लबविहीन थिए । उनले अन्ततः विश्वविजेता बनेको स्पेनविरुद्ध गोलरहित बराबरीमा सात उत्कृष्ट बचाउ गरेका थिए । साथै अन्तिम ३२ को खेलमा उपविजेता अर्जेन्टिनालाई अतिरिक्त समयसम्म धकेल्न पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यता, नर्वेलाई इतिहासमै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका हालान्डले फरवार्डतर्फ २७.५ प्रतिशत मत प्राप्त गरे । म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले पाँच खेलमा सात गोल गरेका थिए । अन्तिम १६ मा पाँचपटकको विश्वविजेता ब्राजिललाई २-१ ले हराउँदा उनले दुई गोल गरेका थिए । त्यसपछि नर्वेको यात्रा इंग्ल्यान्डसँग पराजित हुँदै क्वार्टरफाइनलमा टुंगिएको थियो ।

भोजिन्हा र हालान्डसँगै केलियन एम्बाप्पे, लियोनेल मेस्सी र जुड बेलिङ्घम पनि विश्वकप ड्रिम टिममा परेका छन् ।

यस्तो छ समर्थकले छानेको विश्वकपको ‘ड्रिम टिम’

गोलकिपर: भोजिन्हा (केप भर्डे)

डिफेन्डर: पेड्रो पोरो (स्पेन), लिसान्द्रो मार्टिनेज (अर्जेन्टिना), दायो उपामेकानो (फ्रान्स), मार्क कुकुरेला (स्पेन)

मिडफिल्डर: रोड्री (स्पेन), माइकल ओलिसे (फ्रान्स), जुड बेलिङ्घम (इंग्ल्यान्ड)

फरवार्ड: लियोनेल मेस्सी (अर्जेन्टिना), एर्लिङ हालान्ड (नर्वे), केलियन एम्बाप्पे (फ्रान्स)

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij