ललितपुर । मेगा कलेज कुमारीपाटी ललितपुरमा आयोजित “दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलन” ले नेपाली वाणिज्य, अनुसन्धान, नवप्रवर्तन र दिगो विकासका समसामयिक सवालहरूलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।
सम्मेलनमा विश्वविद्यालयमा आबद्ध विज्ञहरूको प्रवचन, अतिथिहरूको सम्बोधन तथा नेपाल, भारत, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका अनुसन्धानकर्ताहरूले पाँच वटा कार्यपत्र प्रस्तुत गरेका थिए। साथै मेगा कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत व्यवस्थापन, सूचना प्रविधि, इन्जिनियरिङ तथा कानून संकायका विद्यार्थीहरूले नौ वटा अनुसन्धानात्मक प्रस्तुतीकरण गरेका थिए। मेगा कलेज कुमारीपाटीका प्राचार्य डा.घनश्यामप्रसाद साहले २ दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलन नेपाली प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरुका लागि निकै उपलब्धीमूलक रहेको बताए ।

दुई दिनसम्म चलेको सम्मेलनमा नवप्रवर्तन, उद्यमशीलता, डिजिटल रूपान्तरण, वित्तीय व्यवस्थापन, उपभोक्ता व्यवहार, अन्तर्राष्ट्रिय व्यापार, साना तथा मझौला उद्योग, मानव संसाधन, कर प्रणाली, हरित अर्थतन्त्र र दिगो विकासजस्ता विषयमा अर्थशास्त्रीहरुको प्रस्तुति एवं अन्तरक्रिया गरिएको थियो । प्रस्तुत छ सम्मेलनको निष्कर्षका रुपमा घोषणा गरिएका महत्वपूर्ण विषय हरु-
१. अनुसन्धानमा बजेट वृद्धि: शैक्षिक क्षेत्रलाई थप प्रभावकारी र समयसान्दर्भिक बनाउनका लागि विश्वविद्यालय तथा सरोकारवाला निकायहरूले शैक्षिक अनुसन्धान मा बजेटको विनियोजन उल्लेख्य रूपमा बढाउनुपर्ने कुरामा विज्ञहरूको विशेष जोड ।
२. निजी क्षेत्रसँग सहकार्य: शैक्षिक र व्यावसायिक क्षेत्रको विकासका लागि विश्वविद्यालयहरूले केवल सरकारी भर नपरी निजी क्षेत्रसँग रणनीतिक सहकार्य गरेर अनुसन्धान र नवप्रवर्तनलाई अगाडि बढाउनु आवश्यक देखिएको ।
३. नयाँ प्रविधि र डिजिटल रूपान्तरण (Innovation): नवप्रवर्तन भन्नाले केवल प्रविधि मात्र नभएर व्यावसायिक ‘सोच र मानसिकता’ मा परिवर्तन हुनु हो। स्थानीय व्यवसायहरूले दुर्गम क्षेत्रसम्म पहुँच पुर्याउन वित्तीय प्रविधि (Fintech) अँगाल्नुपर्ने र परम्परागत आपूर्ति शृङ्खला लाई आधुनिकीकरण गर्नुपर्ने निष्कर्ष निकालिएको ।
४. दिगो विकास र उत्तरदायित्व (Sustainability): वाणिज्य क्षेत्र अब केवल नाफा कमाउने माध्यम मात्र नभएर ‘नाफा, नागरिक र प्रकृति’ (People, Planet, and Profit) सँग जोडिनुपर्छ। जलवायु परिवर्तनको जोखिममा रहेको नेपाल जस्तो देशका लागि व्यावसायिक क्षेत्रमा दिगोपना, नैतिक नेतृत्व र संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अपरिहार्य रहेको ।
५. अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता (Global Competitiveness): नेपाली उत्पादन, जनशक्ति र विद्यार्थीहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन जरुरी छ। नेपाली शिक्षा र व्यवसायको स्तरलाई यस्तो बनाउनुपर्छ ताकि विश्व बजारमा ‘मेड इन नेपाल’ (Made in Nepal) वा ‘रिसर्च इन नेपाल’ (Researched in Nepal) भन्ने बित्तिकै गुणस्तर र उत्कृष्टताको पहिचान बनाउनुपर्ने ।
६. एकाडेमिया र उद्योगको मिलनविन्दु: यो सम्मेलनले नेपाली प्राज्ञिक प्रतिभा लाई विश्वव्यापी मापदण्डसँग जोड्ने एउटा बलियो पुल को रूपमा काम गरेको जसले गर्दा स्थानीय स्तरमा भएका अनुसन्धानहरूले विश्वव्यापी मान्यता पाउन सकून् भन्ने अपेक्षा लिइएको ।
७. नवप्रवर्तन मार्फत विश्व बजारमा प्रतिस्पर्धा: व्यावसायिक क्षेत्रमा नयाँ र सिर्जनात्मक सोच (Creative Engine) को विकास गर्न सके ललितपुर वा नेपालका साना तथा मझौला उद्योगहरूले पनि मुम्बई, बेइजिङ वा विश्वका अन्य ठूला सहरका कर्पोरेट दिग्गजहरूसँग सहजै प्रतिस्पर्धा गर्न सक्ने सामर्थ्य भएको ।
८. वाणिज्य क्षेत्रको आगामी दिशा निर्धारण: सम्मेलनको मुख्य नारा “समसामयिक वाणिज्यका मुद्दाहरू: नवप्रवर्तन, दिगोपना र विश्वव्यापी प्रतिस्पर्धात्मकता” (Contemporary Issue in Commerce: Innovation, Sustainability and Global Competitiveness) ले आगामी दशकको नेपाली वाणिज्य क्षेत्रलाई दिशानिर्देश गर्ने तीन मुख्य स्तम्भहरू खडा गरेको ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij