काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले माघ ११ गतेका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयपछि आयोगले कार्यतलिका सार्वजनिक गरेको हो । स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भई मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको आयोगले उल्लेख गरेको छ ।
त्यस्तै, राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने पनि जनाएको छ ।
त्यस्तै पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ। पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने पनि आयोगले आफ्नो कार्यतालिकामा राखेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij