२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

जनक शिक्षा सामग्री लिमिटेड भक्तपुरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छाप्दै कर्मचारी । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।

हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । छापिएकामध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि सकिएको छ ।

कर्णाली र सुदूरपश्चिम (एकाध जिल्ला बाहेक) प्रदेशको मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ । समानुपातिकतर्फको दुई करोड चार लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो ।

उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ । मतपत्र माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला, जिल्ला पठाउने गरी आयोगले तयारी गरिरहेको छ । निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरेको छ ।

विभिन्न किसिमका निर्वाचन सामग्री भने आयोगले नै खरिद गरेर जिल्ला, जिल्ला पठाउन लागेको हो । सडक पुगेको उच्च पहाडी र हिमाली जिल्लामा ट्रक र उच्च हिमाली जिल्लामा हेलिकप्टरका माध्यमबाट मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गरिने आयोगका सहायक प्रवक्ता जिसीले बताए।

विसं २०७९ को निर्वाचनमा खरिद गरी बाँकी रहेका निर्वाचन सामग्री भने आयोगले काठमाडौँ वरिपरि एवं नजिक, नजिकका जिल्लामा पठाइएको जनाएको छ । सेतो कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री यसअघिको निर्वाचनमै खरिद गरी बाँकी रहेको थियो ।

प्रधामन्त्रीको चासाे

त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएकी हुन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij