२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

बृहत एकतामा सामेल हुन विप्लवलाई प्रचण्डको आग्रह

बृहत एकतामा सामेल हुन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा ⁠विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरुलाई नेकपामा समायोजन गराउदै प्रचण्डले कम्युनिष्ट एकतामा सामेल नभए पछिसम्म पश्चाताप हुने बताए । उनले आत्मसमीक्षासहित बृहत एकतामा सामेल हुन विप्लवलाई आग्रह गरे ।

उनले समाजवादी मोर्चामा हुँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व बैचारिक अन्यौलको भूमरीमा हराएको बताए ।

कुनै आवेगमा नभइ राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिष्ट आन्दोलनका घटकहरुलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरेको भन्दै प्रचण्डले अहिले विप्लवले उक्त मौका गुमाएको बताए ।

अझै पनि विप्लवप्रति आफूहरुको कुनै आक्रोश नभएको र आत्मसमीक्षासहित आए स्वागत गर्न तयार रहेको उनले बताए । प्रचण्डले अहिले देश असहज परिस्थितिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनामा जान सक्ने भएकाले एकतामा जोड दिइएको बताए ।

त्यसैगरी उनले अन्य कम्युनिष्ट घटकहरुलाईसमेत एकतामा सामेल हुन आह्वान गरे । कार्यक्रममा विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल लगाएतका नेताहरुलाई नेकपामा प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij