२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ को सम्पूर्ण तयारी पुरा

एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ को सम्पूर्ण तयारी पुरा

टेक्सस । अमेरिकाको कोलोराडोस्थित बोल्डरमा आगामी नोभेम्बर २३ मा हुने ८औँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड–२०२५ का सबै तयारी पूरा भएको आयोजकहरूले जनाएका छन्।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेशन तथा फिलिप हर्मोनी अर्केस्ट्रा बोल्डरको संयुक्त आयोजनामा सञ्चालन हुने यस अवार्ड कार्यक्रमका लागि नेपाली फिल्म क्षेत्रका वरिष्ठ तथा चर्चित कलाकारहरूको ठूलो टोली सहभागी हुन लागेको छ।

कार्यक्रमका लागि नेपालबाट वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्यसम्राज्ञी बसुन्धरा भुषाल, हास्य कलाकार केदार घिमीरे, नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, नायक प्रदीप खड्का, दिलिप रायमाझी, नायिका शर्मिला मल्ल, केकी अधिकारी, गरिमा शर्मा, दिब्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठसहित झन्डै दुई दर्जन कलाकार सहभागी हुनेछन्।

नेपाली मौलिक कला–संस्कृतिको विश्वव्यापी पहिचान बढाउँदै फिल्मकर्मीलाई प्रोत्साहन दिने उद्देश्यले आयोजना हुने कार्यक्रममा सहभागीता र सहयोगका लागि कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी समुदायलाई ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठले आग्रह गरेका छन्।

कार्यक्रम निःशुल्क भए पनि अनिवार्य प्रवेश पासको व्यवस्था गरिएको छ। प्रवेश पास ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका प्रतिनिधिहरू तथा कोलोराडोस्थित सक्रिय नेपाली संघ–संस्थाका पदाधिकारीमार्फत प्राप्त गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए।

‘नेपाली फिल्म : भिलेज टु ग्लोब’ भन्ने नारासहित बोल्डर थिएटरमा आइतबार, नोभेम्बर २३ का दिन साँझ ४ बजेबाट कार्यक्रम सुरु हुनेछ। सन् २०१६ देखि निरन्तर आयोजना हुँदै आएको यो अवार्डले विश्वभर फैलिएका नेपाली चलचित्रकर्मीलाई एकमुठ बनाउँदै नेपाली कला–संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य बहन गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij