२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

शिक्षा समितिको बैठक अनिश्चितकालका लागि स्थगित

शिक्षा समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

विद्यालय शिक्षा विधेयकमाथि छलफल गरी पारित गर्न सोमबार सिंहदरवारमा बसेको समिति बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले छलफलका लागि अझै केही समय माग गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।

बैठकमा काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पनि अहिलेको अवस्थामा नै विधेयक पारित भए काँग्रेसलाई स्वीकार्य नहुने बताएका थिए। काँग्रेस सचेतकको धारण र शिक्षामन्त्रीले छलफलका लागि समय माग गरेपछि सांसदहरूले असन्तुष्टि जनाएका थिए।

तर, छलफलपछि समिति सभापति अम्मरबहादुर थापाले समितिले सहमति गरेका विषयबाट ब्याक नहुने गरी सहमति कायम गर्न शिक्षामन्त्रीलाई आग्रह गर्दै छलफलका लागि केही दिन बैठक स्थगित गरे।

त्यसअघि बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पास नगर्न आग्रह गरे। उनले सरकारको सहमति बिना विधेयक पारित गर्ने अभ्यास अहिलेसम्म नरहेको बताए। काँग्रेसको समेत आग्रहमा आफूले छलफलका लागि केही दिनको समय मागेको उनको भनाइ छ।

त्यस्तै काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शिक्षकहरूसँग छलफल बाँकी नै रहेकाले अहिले विधेयक पारित नगर्न सुझाव दिएका थिए। उनले अहिले नै विधेयक पारित भए काँग्रेसलाई स्वीकार्य नहुने बताए। समिति सदस्यहरूले भने सोमबार नै समितिबाट विधेयक पारित गर्नुपर्ने अडान राखेका थिए। माओवादी सांसद रेखा शर्मा, एमाले सांसद विद्या भट्टराई, रास्वपा सांसद सुमना श्रेष्ठलगायतका सांसदहरूले सहमतिमा यसअघि भएका सहमतिलाई आधार मान्दै विधेयक अघि बढाउन माग गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij