२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

दशैंमा प्रधानमन्त्रीको शुभकामना : सकरात्मक परिवर्तनका लागि प्रतिबद्ध छौं

दशैंमा प्रधानमन्त्रीको शुभकामना : सकरात्मक परिवर्तनका लागि प्रतिबद्ध छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको जनाएका छन्।

विजया दशमी २०८० का अवसरमा शुभकामना सन्देश दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेकोमा जोड दिएका हुन्।

जात, वर्ग, धर्म, लिंग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर ‘गरे हुन्छ, परिवर्तन सम्भव छ’ भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने स्पष्ट पारेका छन्।

‘नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ’, शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्।

उनले मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवनमूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्रका रूढिवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकामा जोड दिएका छन्। प्रधानमन्त्री दाहालले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरेका छन्।

प्रचण्डले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजया दशमीको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij