एजेन्सी । इङ्ल्यान्डले ह्यारी ब्रुकलाई टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय टोलीको कप्तान बनाएको छ ।
अब ब्रुकले जोस बटलरको स्थानमा टोलीको नेतृत्व गर्नेछन् । च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डको निराशाजनक प्रदर्शनपछि बटलरले आफ्नो पदबाट राजीनामा दिएका थिए । च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डको प्रदर्शन धेरै खराब रहेको थियो र सेमिफाइनलमा पुग्न असफल भएको थियो ।
इङल्याण्ड क्रिकेटले सोमबार ह्यारी ब्रुकलाई कप्तान बनाएको घोषणा गरेको छ । २६ वर्षीय ब्याट्सम्यान अब टी-२० र एकदिवसीय क्रिकेटको कप्तानी गर्नेछन् । उनले हालै आईपीएलबाट आफ्नो नाम फिर्ता लिएपछि उनलाई आइपिएलमा दुई वर्षको प्रतिबन्ध लगाइएको थियो । उनी आइपीएलको अहिले जारी सिजनका लागि दिल्ली क्यापिटल्स आवद्ध थिए ।
ब्रुकले इङल्याण्डका लागि अहिलेसम्म २६ एकदिवसीय खेल खेलेका छन् । जसमा उनले ३४ को औसतमा ८१६ रन बनाएका छन् । उनको उच्चतम स्कोर ११० रहेको छ । साथै, उनले ४४ टी-२० अन्तर्राष्ट्रिय खेलमा ७९८ रन बनाएका छन् । उनी २०२२ मा टी-२० विश्वकप जित्ने टोलीको हिस्सा थिए । सेतो बल ढाँचाको कप्तानी पाएपछि, ब्रुकले इङल्याण्डको कप्तान हुनु साँच्चै सम्मानको कुरा भएको बताउदै आफुले देखेको सपना पुरा भएको बताएका छन् ।
इङल्याण्डले अब आगामी मे मा जिम्बाबे र जुनमा वेस्ट इण्डिजसँग खेल्ने तालिका रहेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij