काठमाडौँ- नेकपा एकीकृत समाजवादीका पूर्वी नवलपरासी जिल्ला अध्यक्षसहित ३१ जना नेताले पार्टी छाडेका छन्।
संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गर्ने नेतामा जिल्लादेखि प्रदेश तहसम्मका नेता छन्। जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा कम्युनिस्ट विचारधाराबाट विचलन नहुने तर नेकपा एकीकृत समाजवादीबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
जिल्लामा प्रदेश अधिवेशनको समयमा पार्टीको जिल्ला इन्चार्ज र जिम्मेवारीको विषमा असन्तुष्ट उनीहरूले यस विषयमा केन्द्रीय तथा प्रदेश कमिटीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले पार्टी छाडेको बताएका छन्।
पार्टी छाड्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष तथा युवा संघका जिल्ला इन्चार्ज प्रेमनारायण पाण्डे, जिल्ला कमिटी उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कंडेल, रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुँवरलगायत छन्।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij