२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

नेपाल प्रहरीमा वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया सुरु

नेपाल प्रहरीमा वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया सुरु

 

काठमाडौँ । नेपालमा आर्थिक अपराधका घटना वृद्धि भएसँगै सरकारले वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया अघि बढाएको छ ।

त्यसका लागि अवधारणापत्रसमेत तयार पारिएको छ । गृह मन्त्रालयकाअनुसार हाल नेपाल प्रहरीबाट तयार पारिएको वित्तीय अपराध नियन्त्रण ब्यूरोसम्बन्धी अवधारणापत्रमा छलफल भइरहेको छ ।

केही चरणमा छलफलसमेत भइसकेको र केन्द्रीय अनुसन्धान ब्यूरोको नियमावली परिवर्तन गरी वित्तीय अपराध नियन्त्रण ब्यूरोलाई अघि बढाउने प्रक्रिया थालिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

प्रविधिको विकाससँगै नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अपराध बढिरहेको छ । यस्ता अपराधमा अन्तर्राष्ट्रिय सञ्जालकै सहभागिता देखिने गरेकाले चुनौती बढ्दो छ । त्यसैले आर्थिक अपराधलाई केन्द्रित गरी ब्यूरो गठन गर्न सकेमा त्यस्ता अपराध नियन्त्रण र दोषीलाई कारबाही गर्न सहज हुने भएकाले अवधारणापत्र तयार पारेर गृह मन्त्रालयमा पठाइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

हाल साइबर ब्यूरो, लागुऔषध नियन्त्रण ब्यूरोले काम गरिरहेको जसरी नै निश्चित ब्यूरो स्थापना हुँदा त्यसले सोही प्रकृतिका अपराधमा अनुसन्धान गर्ने हुँदा थप प्रभावकारी हुने विश्वास नेपाल प्रहरीको छ ।

प्रहरी महानिरीक्षक कुँवरले अवधारणापत्र गृह मन्त्रालयबाट स्वीकृत भएमा थप काम अघि बढ्ने बताए । प्रहरीमा परेका उजुरीमा सबैभन्दा बढी ठगी र बैंकिङ कसुरका छन् । ‘चेक बाउन्स’का मुद्दा अत्यधिक छ । जसले प्रहरी कार्यालयका अन्य कामकाजमा असर गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij