२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

रौतहटको मौलापुर केन्द्रबाट ४३.४० प्रतिशत विद्युत् चुहावट

रौतहटको मौलापुर केन्द्रबाट ४३.४० प्रतिशत विद्युत् चुहावट

वीरगंज ।  मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ।

नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र छ। यो केन्द्रबाट ४३.४० प्रतिशतले विद्युत् चुहावट भएको छ।

प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरका अनुसार मधेशका अधिकांश वितरण केन्द्रबाट विद्युत् चुहावट उच्च हुने गरेको छ। ‘मधेसका गाउँ-गाउँमा विद्युत् चोरी धेरै भएकाले पनि चुहावटको मात्रा पनि धेरै देखिएको हो।

मधेश प्रदेशका २३ वितरण केन्द्रमध्ये सबैभन्दा धेरै चुहावट मौलापुरमा देखिएको छ’ उनले भने, ‘यहाँ विशेष गरेर हुकिङ गरेर, मिटरबाट पनि विद्युत् चोरी गर्ने प्रवृत्ति देखिएको छ। हामीले विद्युत् चोरी गर्नेलाई पक्राउ गरेर जरिवाना गर्दै पनि आइरहेका छौँ।’

मधेस प्रदेशको दोस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा पर्छ-बाराको सिम्रनगढ वितरण केन्द्र। सो केन्द्रमा पनि ४३.२३ प्रतिशत विद्युत् चुहावट भएको छ। यस्तै तेस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा मलंगवा वितरण केन्द्र दर्ज भएको छ। यो केन्द्रबाट पनि गत आवभरिमा ४२.९१ प्रतिशतले विद्युत् चुहावट भएको छ।

प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ। सो केन्द्रबाट विद्युत् चुहावट १.४० प्रतिशतमात्र रहेको छ। दोस्रो सबैभन्दा कम चुहावट हुने वितरण केन्द्रमा मिर्चैया वितरण केन्द्र रहेको छ।

केन्द्रको विद्युत् चुहावट ३.०१ प्रतिशत छ। त्यस्तै तेस्रो कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा वीरगञ्ज वितरण केन्द्र पर्छ। सो केन्द्रको चुहावटको हिस्सा ५.८८ प्रतिशत छ।

मधेश प्रादेशिक कार्यालय प्रमुख ठाकुरका अनुसार गत आवमा प्रदेशमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै सात हजार ९७ जनालाई कारबाही गरेको थियो।

प्राधिकरणले गत आवमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै दुई हजार ६५६ जनालाई पक्राउ गरेर आवश्यक कारबाही गरेको थियो। त्यस्तै गत आवमा नै विद्युत् चुहावटमा संलग्न रहेकाबाट छ करोड २० लाख तीन हजार ९५८ रकम जरिवाना उठाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij