२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारीविरुद्ध मुद्दा

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारीविरुद्ध मुद्दा

बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।

कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा संकलित नमुनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो।

अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने ३२ व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालत र १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए।

कार्यालयले ऐन, नियमबमोजिम सङ्कलित तीन ५०, अनुज्ञापत्र तथा नवीकरण गर्न सङ्कलित दुई हजार ७४, अनुरोधात्मक नमुना १५२ र खाद्य स्वच्छता सर्भिलेन्सका लागि १६२ गरी दुई हजार ७३८ नमुना विश्लेषण गरेको प्रमुख घिमिरेले बताए।

नमुना विश्लेषण गर्दा प्रतिकुल आएका ८५ नमूनाहरूलाई नियामनुसार कानूनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेले जानकारी दिए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र सिन्धुली तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका खाद्य निरीक्षकहरूबाट आव २०८०/८१ मा नमूना विश्लेषण प्रयोजनका लागि सङ्कलित तीन सय नौवटा नमुना प्रयोगशाला विश्लेषणका क्रममा नौवटा नमुना प्रतिकूल पाइएकाले प्रतिकूल पाइएका ती नमुनामाथि अनुसन्धान अघि बढाएको प्रमुख घिमिरेले जानकारी दिए।

सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेका लगायत अखाद्य भएका ११ लाख २० हजार ७४६ मूल्य बराबरको वस्तु जफत गरी सरोकारबालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेको भनाइ छ ।

यस्तै सो कार्यालयले उक्त आवमा उद्योग स्थापनाका लागि ८६ खाद्य उद्योगलाई सिफारिस तथा ६० खाद्य तथा दाना उद्योगलाई अनुज्ञापत्र जारी गरी कुल तीन सय ११ उद्योगलाई सेवा उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij