काठमाडौँ- बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले मंगलबार न्वागी पर्वको अवसरमा तीन जिल्लामा २२ भदौमा बिदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेशको तीन जिल्ला मकवानपुर, चितवन र धादिङमा अति सिमान्तकृत चेपाङ जातिको बसोबास रहेको छ । चेपाङ समुदायको बसोबास भएका आधारमा मकवानपुर, चितवन र धादिङमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले बिदा दिनेसहित पाँच वटा निर्णय गरेको छ ।
सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्विकृत गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज सहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्विकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रदेश सरकारले ग्रामीण सडक सञ्जाल सुधार आयोजना (एएफ) सञ्चालनका लागि म्याचिङ फण्डको सुनिश्चितता गरी नेपाल सरकार, एसियाली बिकास बैंक र मन्त्रालयबीच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij