२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

‘भ्रष्टाचारका काण्ड सामसुम पार्न नेताहरू मिल्छन् भने छानबिन गराउन हामी मिलौँ’

‘भ्रष्टाचारका काण्ड सामसुम पार्न नेताहरू मिल्छन् भने छानबिन गराउन हामी मिलौँ’

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन नेताहरूबीच मिलीभगत भइरहेको भन्दै त्यसलाई तोड्न सबै एक जुट हुनुपर्ने बताएका छ्न्। उनले भनेका छन्, ‘भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका हामी सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो।’

पछिल्ला भ्रष्टाचार प्रकरणले बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लङ्ग भएको उनको भनाइ छ।

उनले प्रश्न गर्दै भनेका छन्, ‘भ्रष्टाचारका घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने?’ उनले विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएकाहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन्।

यस्तो छ उनको भनाइ

फेरी अर्को काण्डको विवरण सार्वजनिक भएको छ । ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड पछि टीकापुर जग्गा घोटाला लगायत एकपछि अर्को ठुला भ्रष्ट्राचारका काण्डहरू बाहिर निस्किरहँदा बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ । पुराना घटनाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रणका लागि बनेका हाम्रा कानुनी र संरचनागत संयन्त्रहरूलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलहरुमा काम गर्न यी घटनाहरूले हामीलाई झकझकाइरहेका छन । तर, यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै देखिन्छ।
अतः

१. यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएको एक ठाउँमा आउँ। यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ ।

२.हामीले प्रयास गयौँ भने यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण अहिले बन्दै छ । यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार सम्बन्धी दुई वटा ऐन संशोधन

विधेयक विचाराधीन छन् । हामीले छुट्टा छुट्टै दर्जनौँ संशोधन हालेका छौँ । यसमा राम्रोसँग काम गरौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔँ । नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔँ । के नीतिगत हो, के होइन प्रस्ट गरौँ ।

संसद बाट स्वार्थको द्वन्द्वसम्बन्धी कानुन अविलम्ब पारित गरौँ । अनुसन्धान गर्ने निकायलाई सबल बनाउन र निष्पक्ष रूपमा काम गर्नका लागि के के कानुनी व्यवस्था बदल्नुपर्छ त्यसमा काम गरौं। यो सँगै अभियोजन गर्ने सरकारी वकिल र न्यायालयलाई निष्पक्ष र क्षमतावान बनाउन अहिले भएको व्यवस्थामा के-के बदल्नैपर्छ यसमा पनि काम थालौँ।

३. यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ, ‘निर्दोष कोही नपरुन, दोषी कोही नछुटुन।’ भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस्, त्यसै गरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस ।
यी सबै कुरामा मेरो पहलकदमी रहनेछ, जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौँ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij