२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान

राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान

सप्तरी । उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन्। गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको रु ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन्।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण त्यसलाई कम गर्ने उदेश्यले सिसी क्यामरा जडान गरिएका हुन्।

राजविराजको गजेन्द्र चोक, दर्शन चोक, राममन्दिर, अदालत रोड, पानीट्यांकी रोडसहितका ठाउँमा निगरानी गर्न सिसी क्यामरा जडान गरिएका हुन्।

नगरपालिकाले नगरक्षेत्रभित्रको सुरक्षालाई मध्यनजर गर्दै नगरलाई उज्यालो बनाउने उद्देश्यले पाँच ठाउँमा फ्लडलाइट र १३ ठाउँमा मिनिफ्लडलाइट समेत जडान गरिएको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिए।

जडान गरिएका क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाले गर्ने उनले बताए।

यो सहरको बजार, बस पार्क, टेम्पु स्टेन्ड, माइक्रो स्टेन्ड, हाटबजारलगायत इतिहास बोकेको यस क्षेत्रका ठाउँमा अहिले व्यवस्थित गर्न नगरपालिका लागिपरेको अधिकृत गुरुङले बताए।

राजविराज नगर क्षेत्रमा जडान गरिएका सिसी क्यामरा जडानबाट नगरको सुरक्षा व्यवस्थासँगै अपराध नियन्त्रणमा मद्दत पुग्ने जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij