काठमाडौं : कोशी प्रदेशसभाको बैठक डेढ महिनापछि शुक्रबार बस्दैछ।
निवर्तमान मुख्यमन्त्री कार्कीको विश्वासको मत माग्ने प्रस्तावमा गत असार १५ गते छलफल भएयता प्रदेशसभाको बैठक पहिलो पटक बस्न लागेको हो। दिउँसो १ बजे बस्ने बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गर्नेछिन्।
बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि बैठक उपसभामुखले सञ्चालन गनुपर्ने भएको हो। गठबन्धनलाई सरकार गठन गर्न बहुमत नपुगेपछि माओवादी सांसद गौतमले सभामुख पदबाट राजीनामा दिएका थिए। बैठकमा सभामुखबाट गौतमले दिएको राजीनामाको जानकारी गराउने कार्यसूची छ।
त्यसैगरी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्र पनि जानकारी गराइने प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसपछि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत् ल्याएको बजेट अस्वीकृत गर्ने विषयमा परेको सूचनाबारे छलफल भइ निर्णय हुने प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए।
तत्कालीन प्रतिपक्ष पार्टीहरूले बजेट अध्यादेश अस्वीकृत गरियोस् भनी दर्ता गराएको विरोधको सूचना आज छलफलपछि फिर्ता लिइने कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले जानकारी दिए। त्यसपछि आइतबारदेखि अध्यादेशमाथि छलफल प्रारम्भ गर्ने तयारी रहेको उनले बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij