काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द भएको छ । शुक्रबार सूचना जारी गरी अध्यक्ष छनौट नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले प्रक्रिया रद्द गरेको जनाएको हो । समितिले गत फागुन १६ गते सूचना निकालेर अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो ।
गत सोमबार महान्याधिवक्ताको कार्यालयले दिएको रायका आधारमा समितिले प्रक्रिया रद्द गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेको थियो ।
छनौट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई छनौट गरेको थियो । यी पाँचमध्ये पहिलो पटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए ।
धितोपत्र बोर्डका अध्यक्षको लागि बोलाइएको पहिलो पटकको अन्तर्वार्तामा जम्मा दुई जना उम्मेदवार मात्रै पुगेपछि बाँकी तीन जनालाई बोलाइएको थियो। बाँकी तीन दुवै पटक अनुपस्थित भए । धितोपत्र ऐन अनुसार छनौट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij