चितवन । नेपाली कांग्रेस चितवनले तीनदिने राष्ट्रियस्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय नेताहरूले तालिम दिएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक प्रशिक्षण विभागका पूर्वसंयोजक विमलेन्द्र निधिले समावेशिता र समाजवादका बारेमा प्रशिक्षण दिए । पार्टी नेता गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, गत निर्वाचनको घोषणापत्र र आगामी दिनको अर्थनीतिका बारेमा प्रशिक्षण दिएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले प्रतिपक्षको आरोपको प्रतिवाद र प्रकाश रसाइलीले दलित मुद्दाहरूका बारेमा प्रशिक्षण दिए । प्रशिक्षक डा कृष्ण प्रसाद पौडेले निर्वाचन, निर्वाचन स्थलमा स्वस्थ निर्वाचन गर्न खेल्न पर्ने भुमिकाका बिषयमा प्रशिक्षण दिएका थिए ।
नेपाली कांग्रेस चितवन काठमाण्डौ उपत्यका सम्पर्क समितिका सभापति ऋषीश्वर थपलियाकाका अनुसार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, कांग्रेसको केन्द्रीय निति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्य, पार्टीको वाग्मती प्रदेशका प्रशिक्षण शाखाका निर्देशक राजु नेपाल, डा सञ्जय चौधरी, एकनारायण पौडेल, प्रकाश अधिकारी, केशव चालिसेले समसामयिक राजनीति र प्रविधिका बारेमा प्रशिक्षण दिएका थिए ।
चितवन काँग्रेसका सभापति राजेश्वर खनालका अनुसार अहिले चितवन काँग्रेसलाई आफूले बुझेर मानसिकरुपले परिपक्व बनाई अरुले फैलाएको भ्रमको पछि लाग्नेहरुलाई गाउँमा गई बुझाई लोकतन्त्रलाई बलियो बनाउन लागिपरिरहेको छ । नेपाली काँग्रेस चितवनले बार्षिक क्यालेण्डर बनाई सबै कार्यकर्ता जिम्मेवारि दिई जागरुक बनाई २०५६ सालको स्थानमा काँग्रेसलाई पुर्याउन लागिरहेको जानकारी गराए ।
जिल्लाका ५३ जना अगुवा कार्यकर्ता तालिममा सहभागी भएका थिए । शनिबार अबेर तालिमको समापन गरिएको हो । तालिममा सहभागीहरूले पार्टीको नीति र अभियानलाई गाउँगाउँमा पुर्याउने तालिमका संयोजक नेपाली कांग्रेस चितवनका प्रशिक्षण शाखाका संयोजक शालिकराम पौडेलले जानकारी दिए ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij