२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

व्यक्तिको नभई कम्पनीको नाम राखेर संसदीय छानबिन समिति गठन गर्ने दलहरुबीच सहमति

व्यक्तिको नभई कम्पनीको नाम राखेर संसदीय छानबिन समिति गठन गर्ने दलहरुबीच सहमति

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन दलहरुबीच सहमति भएको छ । सोमबार रातिसम्म चलेको सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदीय समिति गठनमा सहमति जुटेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना गर्ने निजी कम्पनीको नाम राखेर संसदीय छानबिन समिति बनाउन तयार भएको छ ।

भोलि बिहान ११ बजे सहमति पत्रमा हस्ताक्षर गर्नेगरी बैठक टुंगिएको छ । कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरीले मंगलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकले सहमति पत्रमा हस्ताक्षर हुने बताए।

उनले भने,’सहमतिमा पुगिसकेका छौं। एकाध विषयको टुंगो भोलि लाग्छ। लगत्तै सहमति पत्रमा हस्ताक्षर हुन्छ ।’ उनले कांग्रेसले सहकारीको रकम अपचन गर्ने कम्पनीको नाम लेख्ने र दोषी देखिए कम्पनीको पदमा बसेकाहरूलाई कारबाही गर्ने विषयमा सहमति जनाएको बताए ।

उनले भोलिबाट सदनका नियमित कामहरू निर्वाधरूपमा अगाडि बढ्ने पनि बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निष्कर्ष उन्मुख भएको र भोलिको बैठकले अन्तिम रूप दिने बताए । उनले गृहमन्त्री लामिछानेको नाम जोडिएका सबै सहकारीको नाम लेखिने भएकाले संलग्न सबैमाथि छानबिन हुने बताए । यसअघि कांग्रेसले गृहमन्त्री लामिछानेको नाम राख्नैपर्ने अडान लिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij