काठमाडौं । संसारलाई आशावादका साथ कसरी बदल्न सकिन्छ भन्ने शीर्षकमा साङ्केतिक भाषामा अभिव्यक्ति कला प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ ।
सवल व्यक्तिहरुको वादविवाद प्रतियोगिता कार्यक्रम सामान्यतया निरन्तर भईरहन्छ तर श्रवण शक्ति कम भएका, बहिरा तथा बोल्न नसक्नेहरुको लागि भने यस प्रकारको प्रतियोगिता निकै कम हुने गरेकोमा अप्टिमिष्ट नेपालले यसको शुरुवात गरेको आयोजक बताउँछन् ।
बहिरा र बोल्न नसक्नेहरुको पनि भावना र क्षमता उजागर गर्ने उद्देश्य सहित विगत दुई वर्षदेखि सञ्चालन गर्दै आइरहेको प्रतियोगितामा यस पटक नक्सालस्थित केन्द्रिय बहिरा क्याम्पसका आठ जना भाइबहिनी सहभागी भएका थिए जसमा श्रद्धा भुषाल प्रथम भएकी छन् । त्यसैगरी समीर देशेमरु दोस्रो, अलिशा कोईराला तेस्रो र प्रज्ववल सुवेदी चौंथो भए
नेपाल डिष्ट्रिक्ट अप्टिमिष्ट ईन्टरनेशनलका डिष्ट्रिक्ट गभर्नर प्रकाश घिमिरेले प्रथम, दोस्रो र तेस्रो हुने भाइबहिनीहरुलाई नगद सहित प्रमाणपत्र वितरण गरे । गभर्नर घिमिरेले भाइबहिनीहरुको कला र क्षमताबाट आफु र आफ्नो संस्था निकै प्रभावित भएको र आगामी दिनमा पनि यसलाई निरन्तर गर्ने प्रतिवद्धता सहित भाइबहिनीहरुको उज्जवल भविष्यको कामना समेत गरे ।
‘प्रकृतिमा सृष्टि भईसकेपछि सबैको क्षमता हुन्छ । त्यो क्षमता पत्ता लगाउन सबै सहयोगि हुनुपर्छ । सुन्न , बोल्न गाह्रो हुनेहरुको पनि भावना , क्षमता हुन्छ । सामान्र मानिसले आफ्नो बोलिबाट बाहिर निकाल्छन् भने यि बिशेष क्षमता भएका भाईबहिनीहरले सँकेत मार्फत बाहिर ल्याउनु हुन्छ । त्यहि क्षमता देखाउन भाईबहिनीहरुको आत्मबिश्वास जगाई अरु जस्तै हामिहरु पनि क्षमतावान छौँ’ भन्न यस्ता कार्यक्रम आयोजना गरिएको सँस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलियाले भने ।
प्रतियोगिताको प्रमुख निर्णायकका रुपमा केन्द्रीय बहिरा क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम देवकोटा तथा अन्य निर्णायकहरुमा केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुली र शिक्षिका उर्मिला प्याकुरेल रहेका थिए । प्रमुख निर्णायक क्याम्पस प्रमुख देवकोटाले भाइबहिनीहरुको प्रतिभा उजागर गर्ने कार्यक्रम नौलो र सराहनीय रहेको भन्दै आयोजकलाई धन्यवाद दिए ।
अप्टिमिष्ट क्लब अफ काठमाण्डौ, संगिनी अप्टिमिष्ट क्लब, स्वेडा अप्टिमिष्ट क्लब र अप्टिमिष्ट क्लब अफ बुढानीलकण्ठको संयूक्त रुपमा आयोजित कार्यक्रममा नेपाल डिष्ट्रिक्ट अप्टिमिष्ट इन्टरनेशनलका डिष्ट्रिक्ट गर्भनर प्रकाश घिमिरे, लेफ्टिनेन्ट गर्भनर सुरेन्द्र थापा, डाईरेक्टर विजय सत्याल र आयोजक क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वेडा अप्टिमिष्ट क्लबका अध्यक्ष कमल भट्टराईले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम संयोजक अप्टिमिष्ट क्लब अफ काठमाण्डौका अध्यक्ष अन्जना आचार्यले गरेकी थिइन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij