काठमाडौँ- थाइल्यान्ड र म्यानमारमा फसेका नेपालीको उद्धार गर्न कठिन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। थाइल्यान्ड र म्यानमार यात्रा सम्बन्धमा शुक्रबार ट्राभल एड्भाइजरी जारी गर्दै परराष्ट्रले नेपालीहरुलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगेर बन्दी बनाएर अवैध काममा बाध्य बनाउने गरेको जनाएको छ।
मन्त्रालयले ती नेपालीलाई तलब सुविधा पनि नदिएको जानकारी प्राप्त भएको जनाएको छ। तर त्यहाँ कति नेपालीलाई बन्दी बनाएर राखिएको भन्ने कुरा परराष्ट्रले खुलाएको छैन।
दलालले नेपालीलाई थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारी तथा तलव सुविधाको प्रलोभनमा पारेर लैजाने गरेका छन्।
गैरकानुनी रुपमा थाइल्यान्डबाट स्थलमार्ग हुँदै म्यानमारको म्यावडीमा पुर्याएपछि रोजगारदाताले नेपाली राहदानीसमेत जफत गर्ने गरेको पाइएको छ।
दैनिक १२–१३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानुनी काममा लगाउने गरेको बुझिएको परराष्ट्रले जनाएको छ।
यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुर्याएपछि बन्धक बनाइएका तथा अलपत्र नेपालीहरुले उद्धारका लागि नेपालस्थित आफन्तजन र बैंकक र यांगुनका नेपाली राजदूतावासहरुमा सम्पर्क गर्न थालेका छन्।
नेपाली दूतावासले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरुको उद्धार गरिसकेको छ। थप नेपालीको उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
तर म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकाले उद्धार गर्न समेत चुनौतीपूर्ण भएको यात्रा सम्बन्धि सूचनामा उल्लेख छ।
नक्कली रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जालमा आउने गरेकाले यस्ता झुटा आश्वसनमा नपर्न अनुरोध गरिएको छ।
‘विदेशमा रोजगारी गर्न जाँदा पर्यटक (भिजिट) भिसामा नगई प्रचलित कानुन बमोजिम श्रम स्वीकृाति लिएर मात्र विदेश जान अनुरोध गरिन्छ। यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरु तथा विदेशस्थित नेपाली नियोगहरुसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्नुहुन र आफैंले समेत सम्बन्धित कम्पनी रोजगारदाताको बारेमा वेवसाइट, टेलिफोन, इमेलमार्फत सम्पर्क गरी जाँचबुझ गर्नहुन अनुरोध गरिन्छ’, परराष्ट्रले सूचनामा भनेको छ।
विदेश लगेर नेपालको प्रचलित कानुनले निषेध गरिएका कार्यहरुमा संलग्न गराउने कार्य नगर्न नगराउन पनि चेतावनी दिएको छ।
यस्ता विषयमा जानकारी लिनु परेमा नेपाली राजदूतावास बैंकक तथा यांगुनमा सम्पर्क गर्न भनिएको छ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij