काठमाडौँ- हङकङबाट आएको सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिनको काठमाडौंस्थित गोदाममा सुन गाल्ने ठूलो मेसिन फेला परेको छ।
राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित उनको गोदाममा छापा मार्दा सुन गाल्ने मेसिन फेला परेको हो।
उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ। लिन एक वर्षदेखि नेपालमा कम्पनी खोलेर बसिरहेका छन्।
उनले यसअघि पनि तस्करीको सुन भित्र्याएको र त्यही गोदाममा गालेर बेचेको आशंका राजस्वले गरेको छ। उनको नाममा नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड सञ्चालनमा थियो।
राजस्व विभागको टोलीले विमानस्थलबाट ट्याक्सीमा बाहिर लैजाँदै गरेको अवस्थामा ब्रेक शुभित्र लुकाइएको करिब सय किलो सुन बरामद गरेको थियो। उक्त ट्याक्सीमा लैजाँदै गरेको सामान चिनियाँको गोदाममा लैजान लागिएको बयानपछि राजस्वले गोदाममा छापा मारेको हो।
गोदामबाट थप सामान बरामद भएको थियो। तर ती सामानभित्र सुन रहे नरहेको खुलाइएको छैन। यता प्रहरीले सुन प्रकरणमा पक्राउ गर्न थालेपछि चिनियाँ नागरिक लिन भने स्वदेश फर्किने तयारीमा थिए। उनी फर्किन लाग्दा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।
लिन २०२२ को सेप्टेम्बर २८ मा तीन महिनाको भिजिट भिसामा नेपाल आएका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij