काठमाडौं– द्वन्द्वपीडित र पीडकलाई न्याय दिने गरी परिकल्पना गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि आज संसदीय समिति बैठकमा छलफल हुने कार्यसूची छ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बिहान ११ बजेका लागि बैठक बोलाएको हो।
बैठकमा टीआरसी विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न गठन भएको उपसमितिबाट भएका काम–कारबाहीबारे छलफल हुनेछ। गत ५ जेठमा तीन साता अवधिको समय तोकेर ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको थियो।
यसबीचमा उपसमितिले सरोकारवालासँग छलफल गरेको समिति सचिवालयले जनाएको छ। विधेयकको प्रतिवेदन लेखन सुरु नभएकाले उपसमितिको म्याद थप गर्ने तयारी भइरहेको छ।
उपसमितिमा रमेश लेखक, जीवन परियार, सुवासचन्द्र नेम्बाङ, सन्तोष परियार, महेश बर्तौला, पूर्णबहादुर घर्ती, सुशीला थिङ, गोमा लाभ सापकोटा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर र रञ्जुकुमारी झा सदस्य छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद दर्ता गरेको थियो। प्रमुख प्रतिपक्षी एमालेले दफावार छलफलका लागि संसदीय विषयगत समितिमा लैजानुपर्ने अडान राखेपछि कानुन, न्याय तथा मानव अधिकार समितिमा पुगेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij