२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

कोशीका ११ जिल्लामा फैलियो डेँगी

कोशीका ११ जिल्लामा फैलियो डेँगी

काठमाडौँ- लामखुट्टेको टोकाइबाट हुने डेँगी सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेँगी फोकल पर्सन) विवेचना चम्लागाईंका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा २४० जना डेँगीका बिरामी फेला परेका छन् । उनका अनुसार यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेँगी रोगीको सङ्ख्या ३१२ जना पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेँगी फैलिएको पाइएको छ ।

गर्मी र बर्खायाममा डेँगी फैलिने गरेको छ । डेँगीका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेँगीका बिरामीको उपचार भइरहेको छ ।

पछिल्लो साता मात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेँगीका बिरामी फेला परेका छन् । कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेँगीका बिरामी भेटिएका छन् । सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् । कोशी प्रदेशभर पाइएका डेँगीका बिरामीको दुईतिहाइ सङ्ख्या सुनसरीमा नै छन् ।

स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताए । प्रादेशिक अस्पताल भद्रपुरमा डेँगीका बिरामीको उपचार भइरहेको र डेँगी फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।

आम ज्वरोभन्दा निकै तीव्र ज्वरो आउनु डेँगीको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेँगीका बिरामीमा देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij