काठमाडौँ- पछिल्लो केही समययता दैनिक एक सय केजी अर्थात एक क्विन्टल हाराहारीमा अवैध सुन त्रिभुवन विमानस्थल हुँदै भित्रिने गरेको खुलेको छ।
हङकङसहितको ट्रान्जिट हुँदै हवाई मार्गमार्फत उक्त परिमाणको अवैध सुन दैनिकजसो विमानस्थल भन्सारबाट भित्रिरहेको सूचना राजस्व अनुसन्धान विभागसम्म पुगेको थियो।
बुधबार पनि सय केजी आसपासमा अवैध सुन भित्र्याउन लागिएको सूचना आएसँगै विभागका अधिकारीहरू एलर्ट भएका थिए।
स्कुटर र मोटरसाइकलको पार्ट्ससँगै सुन लुकाएर ल्याएको सूचनापछि विभागले विमानस्थल क्षेत्रमा एउटा टोली बुधबार बिहानैदेखि परिचालन गरेको थियोे।
विभागमा प्राप्त गोप्य सूचनाअनुसार नै बुधबार हङकङ हुँदै करिब सय केजी आसपासको परिमाणको सुन भन्सारबाट जाँचपास भएर सजिलोसँग भित्रियो। उक्त सुन भन्सारबाट पास भएर ट्याक्सीमा लैजाने क्रममा समातिएको हो।
विमास्थलबाट दैनिक एक सय केजी सुन पास भइरहेको सूचना केही दिनदेखि आएपछि त्यही आधारमा अपरेसन गरिएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले बताए।
‘पछिल्लो समय हरेक दिन सय केजी अवैध सुन विमानस्थल भन्सारबाट पास भइरहेको सूचना पाएपछि विभागले छापा मारेकाे हो’, एक अधिकारीले भने, ‘भन्सार जाँच पास भइसकेपछि बाहिर निकालिसकेको अवस्थामा समातिएको
हो।’
अनुमानित एक क्विन्टल सुन अवैध रूपमा भित्र्याउने काममा संलग्न भएको आशंकामा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भन्सार एजेन्ट राजेन्द्रकुमार राई र एकजना ट्याक्सी चालक छन्।
तर ठ्याक्कै कति परिमाण र कुन गुणस्तरको हो भन्ने पत्ता लगाउन आवश्यक जाँच मुचुल्कापछि सबै सुन विभागले नेपाल राष्ट्र बैंकमा पठाइसकेको छ।
हङकङबाट क्याफे प्यासिफिकबाट नेपाल आएका यात्रुको साथबाट विभागको टोलीले उक्त अवैध सुन बरामद गरेको पुष्टि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले गरे।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij