२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँः गृहमन्त्री लामिछाने

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँः गृहमन्त्री लामिछाने

इलाम । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताएका छन् ।

शनिबार इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै उनले भने, “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ, केही सङ्केत देखाइसकेका छौँ ।”

उनले रास्वपा सरकारमा सहभागी भइसेकपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार सुरु भइसकेको दाबी गरे । उनले विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै लैजाने बताउँदै भ्रष्टाचारीहरू कसैलाई पनि उम्कन नदिने बताए ।

“हामी सरकारमा आएको धेरै भएको छैन, तर हाम्रो सुरुवाती कामबाटै केही न केही सङ्केत त पाइसक्नुभएको छ”, लामिछानेले भने, “अब क्रमशः सबै भ्रष्टाचारका फाइल खोल्छौँ, त्यसपछि हाम्रो काम देख्नुहुन्छ, तर अलिकति समय पर्खनुहोस् ।”

उनले आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा समेत संसद्बाट जनताकै पक्षमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै इलामबाट एक जना सांसद थपेर पठाइदिन जिल्लावासीलाई आग्रह गरे ।
मिलन लिम्बू उम्मेदवार
रास्वपाले इलाम–२ मा हुने लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको छ । पार्टी सभापति लामिछानेले घण्टी बजाए उम्मेदवार घोषणा गरे । उम्मेदवार घोषणापछि लामिछानेले उम्मेदवार लिम्बूलाई घण्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए ।

पत्रकारिता छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बूलाई रास्वपाले पार्टीमा भित्राएर उम्मेदवार बनाएको हो । इलाम–२ मा वैशाख १५ गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij