२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सशुल्क विदेशी च्यानल भोलिदेखि बन्द हुने

सशुल्क विदेशी च्यानल भोलिदेखि बन्द हुने

काठमाडौं : सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबारदेखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ।

विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु नभएपछि त्यस्ता विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रसारण विभागले जनाएको छ।

विभागले विज्ञप्ति जारी गर्दै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलको शुल्क र बुक उपलब्ध गराउन भने पनि त्यो प्राप्त नभएको उल्लेख गरेको छ।

सरकारले २०७९ चैत १५ गते आलाकार्ट प्रणाली लागु गर्ने निर्णय गरेको थियो। विदेशी टेलिभिजन च्यानलसमेत हेरिरहेका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भारलाई न्यायोचित बनाउन विद्यमान शुल्क प्रणालीलाई सुधार गरी सरकारले आलाकार्ट शुल्क प्रणाली कार्यान्वयन गर्ने योजना अघि सारेको थियो। यो प्रणालीमा उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्न सक्ने सुविधा हुन्छ। अहिले उपभोक्ताले आफूले नहेर्ने च्यानलको पनि शुल्क तिर्ने गरेका छन्।

आलाकार्ट प्रणालीका लागि सरकारले आधारभूत प्याकेजको प्रतिमहिना २५० रुपियाँ निर्धारण गरेको थियो। त्यस्तै सशुल्क च्यानलसमेत गरी अधिकतम प्रतिमहिना ५०० रुपैयाँ तिर्नुपर्ने गरी शुल्क निर्धारण गरिएको थियो। इन्टरनेट र च्यानल सुविधा उपलब्ध गराइरहेका सेवा प्रदायकका हकमा अहिले लिइरहेको शुल्कमा थप शुल्क बढाउन नपाउने व्यवस्था पनि यसमा गरिएको छ।

आलाकार्ट प्रणाली अनुसार सशुल्क विदेशी च्यानलको शुल्क र बुके (टेलिभिजन च्यानलको बण््डल) उपलब्ध गराउन नेपालका सबै अपरेटर र विदेशी टेलिभिजन च्यानललाई डाउन लिङ्क अनुमति प्राप्त वितरकमार्फत विभागले पहिलो पटक वैशाख १७ गते, दोस्रो पटक वैशाख ३१ गते र तेस्रो पटक असार १७ गते पत्राचार गरेको थियो। बारम्बार पत्राचार गरेर पनि कुनै जानकारी प्राप्त नभएपछि उपभोक्ताबाट उठाउन सकिने बुके र प्रतिच्यानलको मूल्य निर्धारण हुन सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij