२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

रामग्रामलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त स्थानीय तह घोषणाको तयारी

रामग्रामलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त स्थानीय तह घोषणाको तयारी

नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त स्थानीय तह घोषणाको तयारी गरेको छ । वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणको काम अगाडि बढाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । नगरका १८ वटै वडा तहमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चितताको घोषणा गर्न आन्तरिक तयारी थालिएको छ ।

नगरपालिकाले वडा नम्बर ७ लाई लुम्बिनी प्रदेश सरकारले तय गरेको मापदण्ड पूरा गरेको आधारमा पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा घोषणा गरिसकेको छ ।

नगर प्रमुख धनपत यादवले सहजरुपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्ने काम भइरहेको जानकारी दिए। ग्रामीण भेगमा भएका स्वास्थ्य संस्थामा पनि प्रसूति सेवा विस्तार गरी घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न अभियानको रुपमा कार्यक्रम अगाडि बढाइएको उनले बताए ।

नयाँ निर्माण भएका स्वास्थ्य संस्थाका सुविधा सम्पन्न भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिकाले काम गरिरहेको पनि उनले जानकारी दिए।

पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएको घोषणा गर्न घरधुरी सर्वेक्षणका क्रममा कम्तीमा ९० प्रतिशतले चार पटक गर्भ जाँच गरेको, कम्तीमा ९५ प्रतिशतले स्वास्थ्य संस्थामै प्रसूति गराएको, सुत्केरी जाँच कम्तीमा तीन पटक भएकोलगायतका मापदण्ड पूरा गरेको हुनुपर्दछ ।

नवलपरासीमा यसअघिनै बर्दघाट र सुनवल नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij