काठमाडौँ- आज (बुधबार) पनि देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पनि सम्भावना छ।
अहिले बिहान पनि कोशीका थोरै तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थनमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना पनि छ।
मौसमविद् लामिछानेले दिउँसो काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको बताए। ‘ठूलो वर्षाको सम्भावना त छैन’, उनले भने, ‘तर काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिन्छ।’
यस्तै राति पनि सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी तथा गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए।
मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij